Sunday, August 19, 2007
Friday, March 02, 2007
जातिवाद
अहिले जताततै जातिवादको कुरा चल्छ। समाचार, अखबार, बल्ग र चोकमा बसेर हुने कुराकानीमा समेत जातियताको कुरा चल्छ। हुँदा हुँदा यो मलेच्छ्यहरुको देश अमेरिकामा समेत त्यो शुरु गरियो।
कुरा ३-४ दिन अगाडीको नेपालीहरुको पार्टीको हो। जाँड जति जति (घाँटीबाट) झार्यो, त्यति नै चड्दै जाने चिज न ठहरियो। ठट्टै ठट्टामा एउटा नेवारले सुनायो त्यही पुरानो जोक-
सराध्यमा धेरै खिर खाएर बाहुन ढले पछि जजमानले जिरा दियो पचाउन। बाहुनले भन्यो-"जिरा अट्ने ठाउँ भा भे त खिर नै खान्थें नि।"
हाँसो सकिनु भन्दा अगाडी नै अर्को बाहुन उठ्यो र सुनायो यो जोक-
गनाउने बोका र भोटेलाई एउटै कोठामा राख्दा सहन नसक्ने बनाएर बोका भगाउने भोटे दाई र एउटा नेवारसँगै बसेर जाँड र छोयला खाँदै रहेछन्। त्यतिकैमा एउटा झिंगा आएर भोटे दाईलाई टेन्सन दिएछ। झ्याप भोटे दाईले झिंगा च्याप्प समातेर क्वाप्प खाइदिएछन्, लौ जा त भनेर। त्यतिकैमा अर्को झिंगा पनि भुनुनु गर्दै आएछ। यसपालि चाहीं व्यापारी नेवार दाईले झिंगा च्याप्प समातेर भोटे दाईतिर फर्केर सोधेछन्-"किन्छस्?"
Labels: Joke
Wednesday, February 28, 2007
Tuesday, February 20, 2007
खुट्टा कहाँ छ?
खुट्टाको बारेमा एक प्रश्न:
"भूईंमा खुट्टा नहुनु र खुट्टामा भूईं नहुनुको फरक के हो?"
जवाफ थाह हुँदा हुँदै पनि म नाजवाफ छु। मुक दर्शक बन्नु पर्छ मैले। जिवनमा सिकेको र सिकाएको कुरा नै यही हो। शायद बाच्नु र बचाउनुको अनिवार्य शर्त नै हो यो। तर के बचाउन? उपेन्द्र देवकोटाले सोधेको प्रश्न-"मान्छे मर्दा दिमाग मर्छ कि मुटु?" को पनि म सित जवाफ छैन।
कुरा तपाईंले बुझ्नु हुन्न, तर जुन कुरा म आफैले बुझेको छैन, तपाईंहरुलाई म कसरि बुझाऊँ? बस्, बुझेको जस्तो गर्नुस्, मुसुक्क हाँस्नुस्, अनि मनमनै गाली गर्नुस्। खेल खतम, पैसा हजम.........
Labels: JPT(BG_CHU)
Sunday, February 04, 2007
म:म: खाइयो
घोची रह्यो भने हिरा त फुट्छ भनेको हो रै छ, आखिर डाएलगले घोची रहेपछि हिजोको सट्टा आज फेरी पाक्यो म:म: हाम्रो एपार्ट्मेण्टमा। हुन त त्यति खाएर मुख मात्र चिलायो, हात्तीको मुखमा जिरा झैं। तै पनि म:म: खाइयो भनेर भन्न त पाइयो। फोटोमा ठूलो म:म: समातेको बिचको हात मेरै हो। धन्यवाद म:म:
Labels: Joke
Saturday, February 03, 2007
म:म: खान पाइएन
HP Pavilion किनेर ल्याए पछि आफ्नै ल्यापटपबाट ब्लग लेख्न चाहना आज बल्ल पुरा हुँदैछ। म शायद संसारको सबैभन्दा अल्छी मान्छे हुँला, अल्छी लागेर नै नलेखेको हो बल्ग। नत्र विषयको कुनै कमी छैन अहिले।
नेपालको षिषयमा लेख्ने हो भने ठेलि नै लेख्न सकिन्छ। राजनितीमा मलाई चाख नभएको पनि हैन, पुल्चोक क्याम्पसमा हुँदा संगठनमा लागेर नेपाल ईञ्जिनियरिङ् स्टुडेण्ट सोसाइटीको सचिव, त्यो पनि चुनाव जितेर, भएको थिएँ। तर मलाई नेपालको विषयमा लेख्नै मन छैन। अमेरिकामा भुईं पुछेर काठमाडौं र तराइको सम्बन्धमा आफ्नो अभिमत जायर गर्नुको के अर्थ? देश जलिरहेछ, समाचारमा पढिन्छ। मर्स्या, न्यार र बाउनको झगडा.....मैले के गर्ने त? जातियताको राजनिति देखेको मैले पुल्चोक क्याम्पसमा हो; मन्द:खल र नेपाल तराइ विद्यार्थी संघ अनि बिचमा भोट माग्नु पर्ने म नेता बाउन। गोइत वा यादव मात्र हैन, गिरिजा र प्रचण्डसित पनि मलाई केही भन्न मन लागेको छैन। जनता ठूलो कि राष्ट्र? मलाई थाह छैन। १९ जना मेरेको जन आन्दोलन-२ को यत्रो गुणगान छ अहिले, तराईमा पनि त झण्डै त्यति नै मर्न लागे क्यारे। अमेरिकाको घुम्ने मेचमा बस्ने अन्धो मान्छे म, बुझ्दै बुझ्दिन किन सपुत मर्दैमा देश बन्छ भनेर भुपीले भनेका हुन्। त्यसैले म यो तराई र नेपालको विषयमा लेख्दै लेख्दिन।
काठमाडौं युनिभर्सिटीमा हुँदा मैले मेकानिकल काम गर्नै त्यति पाएको थिइन। इमेज प्रोसेसिङ् र म्याटल्याव चलाउँदै मेरो दश महिना बितेको थियो। कम्प्युटर प्रोग्रामिङमा पहिलेदेखि कै नै लगाव भएपनि मेकानिकल ईञ्जिनियर भएकोले होला, चित्त बुझ्दैन थियो। शायद त्यही भएर पनि मैले केयूको जागिर कन्ट्राक्टमा एक वर्ष भएपनि दश महिनामा नै छाडेर हिंडेको थिएँ अमेरिकातिर। तर आज त्यही म्याटल्याब चलाउन जानेको कारण यता पनि केयूमा जस्तै RA भएको छु। तर यस विषयमा पनि म ब्लगमा लेख्न चाहन्न।
पहिले पहिले लाग्थ्यो, विषय नभएर मैले बल्ग नलेखेको हो। तर विषयको बाढी आएको बेलामा पनि म अवाक छु। तर आज एक्कासी मलाई विषय र जाँगर एकै पटक फुर्यो। 'काम गर्ने बेलामा हात खुट्टा गल्ला, खाने बेलामा ठुला ठुला डल्ला' त्यो पनि म:म:को.....आज बाहिर गएर आउँदा कोठामा म:म: पाकेको रहेछ टर्कीको किमा हालेर। पाकेको मात्र कहाँ हो र? पाकेको जति सब साथिहरुले नै पचाइ पनि सकेछन्। उनीहरुको डकार सुन्ने बेलामा मेरो प्रवेश भयो। म:म: खान नपाए पनि कमसेकम बल्गको विषय त पाइयो। धन्यवाद म:म:।
Labels: Self
Sunday, January 21, 2007
हामी (भूपि शेरचन)
हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सुर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्र्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झयालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
र्टर र्टर र्टटराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठांै
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उर्ठाईको कुनै महत्व छैन,
हाम्रो दगुर्राईको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको 'छ्वाइयँ' भन्दा बढी वजन छैन ।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उँचाई झूठा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
र्सकसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लठ्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाईलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त 'गुलिभर' झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उफर्न्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैं
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी 'लिलिपुट' का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टनि नसक्ने
कसैले छुटयाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रति,
आफ्नो गति हराएरका
एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।
हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्र्छौ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्र्छौं
र, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्षउसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्र्छौं
र मक्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं
हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँड्ने र दगुर्र्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।
हामी केही पनि हृवैनौं
र शायद त्यसैले केही हृवौं कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई
Labels: Literature