Showing posts with label School. Show all posts
Showing posts with label School. Show all posts

Tuesday, January 16, 2007

नवराज सरको गोदाइ

स्कुलको कुरा याद आयो कि मलाई दुईटा कुराको एकदम याद आउँछ, एउटा नौ कक्षामा पुष्पा मिसले गरेको गाली अनि अर्को चाहिं ६ कक्षामा नवराज लम्साल सरले गोदेको।

मैले त्यसदिन लाइब्रेरीबाट 'गिनिज बुक अफ वल्ड रेकर्ड'को किताब ल्याएको थिएँ। कक्षामा नवराज सर आइसकेका रहेछन्। 'म्याइ कम इन सर' भनेर भित्र गइयो। एउटा साथी थियो-रविन पण्डित नामको। गिनिज बुक हातमा देखेर उसले मलाई जिस्काउँदै भन्यो-'ल हेर, केटाहरु यस्तो यस्तो किताब पढ्ने भइसके!'। मैले पण्डित साथीलाई जिस्काउँदै भनें-'तिमी जस्तो संस्कृतको ठेलि पढ्ने हो त म!'।
नवराज सरले त्यतिखेर हामीलाई संस्कृत पढाउँथे। मेरो दुर्भाग्य, नवराज सरले मैले भनेको कुरा मात्र सुने। अर्थको अनर्थ भयो त्यसपछि। भर्खर फ्रान्समा कबिता महोत्सबमा भाग लिएर फर्केका नवराज सरले 'तँलाई संस्कृत पढाउनेले अङ्ग्रजी जान्दैन जस्तो लाग्छ? म भर्खर फ्रान्समा दुइटा भाषण कागत नहेरि दिएर आएको छु, संस्कृतको क्लासमा तँ संस्कृतलाई हेप्सछ्। नाम मार्कोनी भएर हुन्छ?'

अधुरो कुरा सुनेर उनले त्यस पछि मेरो यति राम धुलाई गरे कि त्यसको बयान म गर्न सक्दिन। रेडियो नेपालमा कार्यक्रम प्रस्तोता भएर पछि भानुभक्त स्कुल छाडेर जाँदा 'म मार्कोनीलाई कहिले पनि बिर्सिन सक्दिन'भन्ने नवराज सरको त्यो पिटाइ शायद म पनि कहिल्यै बिर्सिन्न होला।

Friday, January 12, 2007

APPLE

स्कूलको कुरा हो, म Upper KG मा हुँदाको। पढाइमा अल्छी र कमजोर दुबै थिएँ म जसले गर्दा प्राय टिचरहरुको शिकार भइरहन्थें। शान्ति मिस भनेपछि पूरा कक्षा थर्कमान हुन्थ्यो त्यतिखेर। उनले होमवर्क दिंदा भोलि पल्ट नबुझाउने कोही पनि हुँदैन थियो.....म बाहेक।

त्यस दिन बुझाउनु पर्ने कुनै गृहकार्य थिएन। म ढुक्क थिएँ आज मेरो कपाल बकुल्ला भुत्ल्याए झैं गरेर भुत्ल्याइँमा पर्ने छैन भनेर। तर शान्ति मिस न हो, शायद मलाई नभकुरि उनलाई खाएकै पच्दैन थियो होला। मलाई उभाएर सोधियो-'Apple' को स्पेलिङ् भन्?'

ल बर्बाद, उनले फलफूलको नाम टिपाएर एक हप्ता अगाडी नै घोक्नु भनेको मैले त भुसुक्कै बिर्सेछु। हैन, सोधे पनि 'Apple' नै किन सोधेको, 'Orange' को सोध्नु, O-R-A-N-G-E मलाई कण्ठै थियो, GRAPE सोध्नु, G-R-A-P-E भन्ने पनि याद छ। तर यो याद नभएको APPLE नै किन? Apple भनेको के हो शुद्ध थाह छैन आफूलाई चाहीं। टाउकोमा लिखा परेको पाराले कनाउँन थालें (परेको चाहीं थिएन)।

'आउँदैन तलाई त्यसो भए?'

मैले कपाल कनाउन छाडें। मिसले नै भुत्ल्याउने भएपछि मैले Warm-Up किन गर्नु!

'छिटो भन्।' उनले आँखा तरिन्।

आँखा तरे पनि, खोला तरे पनि, आए पो भन्नु। कक्षाको सबभन्दा ठूको स्वर भएको गफाडी म त्यतिखेर Pin-Drop-Silent को हालतमा थिएँ। तिखो पिन मेरै माथि खस्दैछ भन्ने पनि थाह थियो मलाई।

'Apple, Apple; स्याउको spelling पनि आउँदैन तँलाई?' उनी कुर्लिइन्।

ए...........स्याउ पो। के के नै सोधेको होला भनेको त स्याउ रे। हेत्, हात्ती आयो हात्ती आयो, फुस्सा। म मनमनै दङ्ग परें। कालो भएको मुखमा पनि मुस्कान आयो, शरिर थर्र काम्न छाडे।। अनि जवाफ दिए मैलेँ - 'S-A-याउ‍‍‍‍‍ = स्याउ'।

म दुइदिन स्कूल गइन त्यस पछि। तेस्रो दिन मलाई A-P-P-L-E apple, apple भनेको स्याउ कण्ठै थियो।