Tuesday, October 10, 2006

चिया पकाएको बिहान

अक्टोबर ९ तारिख, अर्थात हिजो।विशेष थियो त्यो दिन। थियो भन्दा पनि भयो भन्नु पर्छ जस्तो लाग्छ मलाई।सधैजसो बिहान १० बजे होइन, बरु बिहानको ७ बजे उठियो।कसैले चिया पकाउला भनेर कुरिएन, बरु आफै नै उठेर चिया पकाएर अरुलाई समेत खुवाइयो। दङ्ग नपर्नोस् साथिहरु यो दिन कुनै चाड पर्व वा रमाइलो दिन थिएन।मलाई न त केटी नै भेट्न जानु थियो र न त मलाई नै भेट्न कोही आउँदै थिए। अनि किन त यो अल्छी त्यति चाडो उठ्‍यो त? तपाईंहरुलाई शंखा लाग्ला । तर यो भएकै हो, विश्वास गर्नोस्।

डाक्टर पउल कोडरलाई चिन्ने जो कसैले पनि उनलाई आधुनिक हिटलर मान्छ, यो मेरो विश्वास हो।मैले उनै अमेरिकन हिटलरले पढाउने(?) दुईटा विषयहरु Pro-Engineers र MSC.Nastran(FEA) लिएको छु यो सेमेस्टरमा। विगत केही हप्ता देखिका MSC.Nastranका गृहकार्यहरु थुप्रिएका थिए र सबैलाई हिजो नै बुझाउनु पर्ने थियो।
अनि त के थियो र? अघि भने जस्तै चिया खाएर हिंडियो ल्याबतिर । समय धेरै लागेन ति कार्यहरु समाप्त गर्न। ८ बजेदेखि शुरु गरेको काम त्यही ३:३० तिर सकियो।बुझाउनु पर्ने कक्षा समय ४:०० तिखो (Sharp) थियो। खाना पकाउने पालो मेरै थियो, तर मलाई भने पकाउने त कुरै छाड्औं, कसैले पकाएर दिए पनि खाने फुर्सद थिएन। चिया पछि त्यतिन्जेल सम्म मुखमा पानी पनि परेको भए मार्दिनु!

शुरुमा त पेटमा मुसा डौडेका थिए, पछि त ति मुसाहरु पनि खान नपाएर मरे। बिहान चिया नखाएको भए बरु सोमबारको ब्रतको धर्म लाग्थ्यो कि? तर त्यति गरेर पनि सबै Nastran का कोडिङहरु मिलेका भए त हुन्थे नि?
अझ, कमिलालाई मुतको पैह्रो, हिटलर साबले त बरु बुधबारलाई पो अरु कामहरु थप्यो ए!

दिनभरिको भोक, प्यास अनि थकान, अब तपाईहरु आफै अनुमान लगाउनु होस् , हिजो राती मैले कति खाना खाएँ होला त? तातो च्याउ र भात खानुको मजा ब्लग पढ्दैमा कहाँ थाह पाइन्छ र साथीहरु। पाठकले च्याउ खाउन् न स्वाद पाउन्............

No comments: