Monday, January 01, 2007

नयाँ वर्ष

म सित समाजमा परिवर्तन ल्याउन सक्ने क्षमता छैन। देशको अप्ठ्यारो परिस्थितिबाट भागेको म मेरो देशलाई पनि शायद केही गर्न सक्दिन होला यो वर्ष। के म देशको लागी कामना गर्न सक्छु त?

देशमा स्थाई शान्ति आओस् भन्न मन लाग्छ मलाई तर लाग्दैन अबको वर्ष पनि देशमा हत्या हिंसाबाट मुक्त हुनेछ। बरु देशमा नयाँ प्रकारको हिंसा शुरु हुन सक्छ। अमेरिकाले ईराक पनि छाड्ला जस्तो छैन। शायद कमैयाहरु पनि तिनकूनेमा नै अर्को नयाँ वर्ष मनाउलान्! एमालेले सडक संघर्षको चेतावनी दिइ नै रहनेछ, माओवादीहरु पनि शान्तिको शाब्दिक राग गाइनै रहनेछन्। नेपाली काङ्ग्रेसमा नेतृत्वको झगडा पनि यथावत रहनेछ। भावूक नभइ भन्ने हो भने नयाँ वर्षमा यी कुराहरुमा खासै कुनै drastic परिवर्तन नआउला।

तर नेपालमा राजतन्त्रको भविष्य यही वर्ष निर्धारण हुन सक्छ।गणतन्त्र नेपाल- मैले देखेको एउटा मात्रै सकारात्मक कुरा यही हो। हुन त गणतन्त्र आएपछि पनि नेपालको समस्या जहिको तहि नै रहन्छ, यो पक्का हो। गणतन्त्र हाम्रो लक्ष्य होइन, एउटा साधन हो देश अगाडि लैजान। देशका यावत समस्या गणतन्त्र घोषणाको भोली पल्ट निराकरण हुनै सक्दैन। तर कुरा हामी कहाँ छौं भन्ने भन्दा पनि हामी कता गइरहेछौं भन्ने कुरा महत्वपूर्ण हो। विकासको दिशामा उल्टो तिर गइरहेको देश नेपाल यी सबैका बावजुत आज सही दिशा तर्फ उन्मुख छ। यो आफैमा एउटा उपलब्धि हो।

तर यी सबै कुरामा मैले गर्न सक्ने के त? शायद केही छैन। शायद यो वर्ष पनि अगिल्ला वर्षहरु जस्तै मैले देश, समाज भन्दा पनि आफ्नै लागि काम गर्नु पर्छ, गर्छु होला। के गर्ने त? के हो मेरो New Year Resolution? त्यसैले नयाँ वर्षको बेलामा आजबाट होइन, हिजैबाट बियर र हाड ड्रिङ्क्स अब नगर्ने घोषणा हामीबाट गरिबक्सेका छौं। पशुपतिनाथले आफू लगायत हामी सबैको कल्याण गरुन्।

1 comment:

Ajaya said...

new year resolution राम्रो लाग्यो, पोहोर को जस्तै रैछ, ठ्याक्कै ! मेनी मेनी ह्यप्पी रिटर्न्स् अफ द डे । & Happy New Year