Showing posts with label Literature. Show all posts
Showing posts with label Literature. Show all posts

Sunday, January 21, 2007

हामी (भूपि शेरचन)

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सुर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्र्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झयालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौं
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचुर हुन्छौं
र फेरि परिणत हुन्छौं पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर बिताउछौं बाँकी जीवन
र्टर र्टर र्टटराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
बिष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठांै
जतिसुकैं यताउति दगुरौं
जतिसुकै ठुलो स्वरमा गर्जौ
तर, हामी भित्र-भित्रै खोक्रा छौं
हाम्रो उर्ठाईको कुनै महत्व छैन,
हाम्रो दगुर्राईको कुनै लक्ष्य छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टाको 'छ्वाइयँ' भन्दा बढी वजन छैन ।

हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्र निरन्तर खिइँदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उँचाई झूठा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउको उचाईंभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
र्सकसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचाइमा रमेका छौं, लठ्ठिएका छौं, फुलेका छौं
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइँदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौं
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौं
हामीले आफ्नो विगत उचाईंलाई बिर्सिसक्यौं
हामीले मानिसको सामान्य उँचाईलाई बिर्सिसक्यौं
हामीले सामान्य मानिसको उँचाईलाई बिर्सिसक्यौं
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वणिर्त 'गुलिभर' झैं
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौं
हामी उसलाई हेरेर छक्क पर्छौं
हामीलाई उसको उचाई देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स-साना हतियारहरुको उसमाथि
प्रहार गर्छौं
उसको अङ्ग-प्रत्यङ्गमा चढ्छौं
उफर्न्छौं
टोक्छौं
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौं
शान्त हुन्छौं
समर्पित हुन्छौं
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तर ओर्लेर त्यसको पाउ पखाले झैं
हामी पुज्न थाल्दछौं त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र-भित्रै निरन्तर खिइँदै गइरहेका छौं
हामी 'लिलिपुट' का मानव हौं ।
हामी लघुमानव हौं ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै छुट्टनि नसक्ने
कसैले छुटयाइदिनुपर्ने,
हामी आफुखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग-रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं
एउटा मनोरञ्जक खेलका सामाग्री,
एउटा खेलाडीमाथि आश्रति,
आफ्नो गति हराएरका
एउटा 'स्ट्राइकर' द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।

हामी वीर छौं
तर बुद्धू छौं
हामी बुद्धू छौं
र त हामी वीर छौं
हामी बुद्धू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी महाभारतको कथामा वर्णित एकलव्य हौं
प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ
इन्कार गर्छ मान्न हाम्रो योग्यतालाई,
शक्तिलाई,
र अस्तित्वलाई
तर, हामी तिनै द्रोणाचार्यको मूर्ति बनाउँछौं
आफ्नो झुप्रो अगाडि,
त्यसलाई पुज्छौं
ढोग्छौं
निरन्तर धनुर्विद्याको अभ्यास गर्र्छौ
र द्रोणाचार्यका अन्य कुलीन
चेलाहरुभन्दा बढी कुशलता प्राप्त गर्र्छौं
र, हाम्रो कुशलतादेखि आर्श्चर्यचकित
र भयभीत भई
प्रत्येक पिंढीमा द्रोणाचार्य हामीकहाँ आउँछ
र गुरु-दक्षिणा माग्छ
र हामी सहर्षउसको इशारामा
आफ्नो बुढी औंला काटेर उसलाई भेटी दिन्छौं,
आफ्नो अस्तित्व मेटेर उसलाई समर्पित गर्र्छौं
र मक्ख पर्छौं आफ्नो गुरुभक्तिमाथि
आफ्नो आत्मशक्तिमाथि
त्यसैले हामी वीर त छौं
तर, बुद्वू छौं
हामी बुद्वू छौं
र त हामी वीर छौं
हामी बुद्वू नभइकन वीर कहिल्यै हुन सकेनौं
हामी कसैको मूर्ति स्थापना नगरीकन
वीर कहिल्यै हुन सकेनौं

हामी पाइतला हौं
केवल पाइतला
र फगत पाइतला
पाइतला : जसको भरमा शरीर उभिन्छ
पाइतला : जसको आधारमा शरीर हिँड्छ
पाइतला : तर जो भन्ठान्छ कि
शरीरले कृपा गरेर उसलाई पालिरहेछ
दया गरेर उसलाई सँग-सँगै हिँडाइरहेछ
मक्ख पर्छ शरीरको महानतामाथि
र सधै सम्पूर्ण शरीरको भार सहन्छ
सधै शरीरको सबभन्दा तल रहन्छ
कहिल्यै शिर उचालेर माथि हेर्दैन
सधै-सधै नतमस्तक रहन्छ
हामी पाइतला हौं
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो निधारले टीका थाप्छ,
हामी दौडमा प्रथम हुन्छौं
र हाम्रो घाँटीले माला लाउँछ
हामी दौडमा प्रथम हुन्छौं
हाम्रो छातीले तक्मा टाँस्छ
हाम्रो टीका थाप्ने निधार अर्कै छ
हाम्रो माला लगाउने निधार अर्कै छ ।
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ,
हामी त फगत कसैको इसारामा
टेक्ने, हिँड्ने र दगुर्र्ने पाइतला हौं
केवल पाइतला
र फगत पाइतला ।
हामी केही पनि हृवैनौं
र शायद त्यसैले केही हृवौं कि !
हामी कतै पनि, केही पनि छैनौं
र शायद त्यसैले कतै, केही छौं कि !
हामी बाँचिरहेका छैनौं
तर शायद त्यसैले पो बाँचेका छौं कि !
त्यसैले आओ ए शून्य पूजकहरु !
हामी सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो सब मिलेर ढोगौं यो रिक्ततालाई
हाम्रो अस्तित्वको यो देवतालाई

Thursday, November 30, 2006

'पल्पसा क्याफे' आफू भित्र खोज्दा

डालस यात्राको क्रममा ‘पल्पसा क्याफे’ पढेको कुरा गरेको थिएँ। म वास्तवमा एउटा भावुक मान्छे हुँ। मलाई थाह छैन मेरा आँखाबाट किन झरे आँसुका थोपाहरु जब पल्पसा चडेको बस एम्बुसमा पर्छ। अझ पल्पसाको साथी जेमिनीले नारायण वाग्लेलाई नै पल्पसाको बारेमा सोध्दा त मेरो हालत हेर्न लाएक थियो ।

एउटा त्यस्तो उपन्यास धेरै पछि पढियो जुन पढ्दा मेरो भावना चुलिएको होस्। शिरिषको फूल पढ्दा पनि म यति भावुक भएको थिइन होला। मेरो लागि ‘शिरिषको फूल’को सकम्बरी भन्दा पनि पल्पसाको अप्रत्यासित बिछोडले पनि यस्तो भएकोल हुन सक्छ।

मैले जिवनमा धेरै उपन्यासहरु पढें। तर पछि सम्म सम्झने चाहिं शायद यी दुई नै हुन्छन् होला। मेरो यी दुबै पल्पसा र सकम्बरीसँग बिछोड भैसकेकोछ। पल्पसालाई मन परेको ‘झर्दै गरेको पात’ भएको झरि चित्र जस्तो छ मेरो यी दुईसँगको सम्बन्ध।

सकम्बरीसँगको भेट त्यति अप्रत्यासित थिएन। तर पहिलो भेटमा नै म ऊ प्रति धेरै नै आकर्षित भएँ। शायद हुनु पर्ने भन्दा पनि धेरै र स्वाभाविक रुपमा हुने भन्दा धेरै फरक। पल्पसासँगको भेट भने चाहिं अप्रत्यासित नै थियो। मैले प्रकाशित गरेको पुस्तक थिएन पल्पसाको हातमा मैले उसलाई भेट्दा। गल्ति मेरै हो मैले नै मेरी पल्पसाको लागी भनेर कुनै पुस्तक प्रकाशित गरिन। ऊ अमेरिका छाडेर नेपाल फर्केकी पनि थिइन, बरु म नै ऊ सित भागेर विदेशिएको थिएँ। किताबमा पल्पसाले लेखेको चिठी याद आयो-

“प्रिय चित्रकार,
तपाईले मलाई सुटुक्क चोर्नु भयो र आफै हराउनुभयो। कति लामो समयसम्म? तपाई कहिले आउनुहुन्छ भन्ने पनि मलाई खबर छैन। म कति आत्यिएकी छु भने मकै झै काठमाडौं-हाँडीभित्र भुटभुटिएको भुटभुटियै भएँ, तपाईले किन मलाई यति सारो आगो लगाउनु भयो। तपाई विनाको काठमाडौं एउटा हाडीं भन्दा फरक लागेन मलाई। म त्यसभित्र कोच्चिएँ र तपाई आगो झोसेर भाग्नुभयो। म यसरी कति समय पोलिन सक्थेँ? तपाई मलाई बुझ्न सक्नुहुन्छ भने ठान्नुहोस् म आगो झोसिएको हाँडीभित्र छट्पटाउने मकैका गेडाभन्दा फरक भइनँ।“

उफ्, पल्पसा, नलेख यसरी चिठी। तिमिसँग बिछोड भएको पिडा नै प्रयाप्त छ मेरो मनमा आगो झोस्न। तिमि नै नायिका भएको पल्पसा क्याफेको पात्र दृश्य झैं समयले सुरक्षाकर्मीको रुपमा आएर मलाई अपहरित गर्‍यो। समयले आँखामा यसरी पट्टी बाँध्यो कि थाह भएन मलाई म कहाँ छु। विश्वास गर पल्पसा, मलाई त्यतिखरे तिम्रो पनि याद रहेन, सकम्बरीको त कुरै भएन। चिठीकै याद आयो-

“पातको नियती भोग्नु पर्‍यो मैले। त्यसैले म आफू जमिनमा अडिन तपाईबाट भाग्दै थिएँ। तपाईबाट टाढा उभिन ताकि म पातबाट एउटा बिरुवाको रुप लिन सकूँ। म तपाईसँग छुट्टिएकै थिएँ तर तपाई मलाई मेरै काठमाण्डू मुकाममा नै धावा बोल्न आउनुभयो र मलाई उडाउनु भयो। मैले तपाईसँग…………सान्त्वना दिनुभयो। उहाँको निम्तो लिएर म तपाईसामु पुगेँ र मलाई एउटा प्रेमीले झैँ व्यवहार गर्नुभयो। के तपाईले कहिल्यै सोच्नुभयो मैले तपाईप्रति कस्तो भावना राखेकी छु।“

तिमीले सहि भन्यौ पल्पसा, म आफूमा बाँचेको थिएँ। मैले न त मेरै भावना तिम्रा अगाडी राख्‍न सकेँ, न त तिम्रै भावनाको कदर गर्न सकेँ। शायद तिमीलाई मनमनै गरेको प्रेममा नै म यति मग्न थिएँ कि मैले तिम्रै प्रेमको सम्मान गर्न सकिन। तिमी सँगै छौ भन्ने घमण्डमा मैले तिमीलाई नै बिर्सिएँ। प्रेम भूपि शेरचनको पाइताला होइन दौडपछि छातीमा तक्मा टाँस्न, यो कुरा बुझ्न मैले धेरै ढिलो गरेँ। आज समयको एम्बुसमा तिमी होइन म परेको छु, छट्पटाइ रहेको छु। दिप श्रेष्ठको गीत बजिरहेछ-

झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कस्को छ र?
तर झर्नु नझर्नु त्यो अर्कै कुरा।

हो, म आज रोइरहेको छु। ओठमा हाँसो देख्‍नेले भन्लान् यो हासेको छ तर मन देख्‍नेले भन्छन्-पिडा लुकाउन हाँस्दैछ।

तर पल्पसा फेरी भन्छे-

“तपाई राम्रो चित्रकार हुनुहुन्छ। तपाईको म एउटै पाठक वा दर्शक होइन। तपाईका अनगिन्ती दर्शक-पाठक छन्। प्रिय धेरै होलान्। अहिले म ठान्छु, तपाई त्यो हुनुहुन्न जुन मैले सोचेको थिएँ। तपाई धेरैका प्रिय हुनुहुन्छ र तपाईका प्रिय पनि धेरै। तपाई मभन्दा धेरै फरक हुनुहुन्छ र टाढा पनि। म तपाईकहाँ पुग्न सक्दिनँ। म तपाईसम्म पुग्न सक्दिनँ भने एक्लै पाकेर, गलेर त म सड्न मात्र सक्छु। र म सड्न चाहन्नँ। तपाईकै प्रेरणा हो, म फूल्न चाहन्छु। म अब आफ्नो काम सुरु गर्न चाहन्छु।“

शायद उपन्यासको नायिका पल्पसाले सहि भनेकी थिई- तपाईको अरुको उपेक्षा गर्ने स्वभाव हो।

कथामा नयाँ पात्र 'क्रिष्टिना' को प्रवेश हुन्छ। उ भन्छे-“तिमीले पल्पसालाई वास्तवमै प्रेम गरेका होइनौ।“

‘कसरी?’

‘प्रष्ट छ,’ उसले भनी-‘तिमी उसको सुन्दरता र तिमीप्रतिको सकारात्मक धारणाबाट आसक्त भएका हौ। तिम्रो फ्यान थिई ऊ र तिमी त्यसै लहसिएका हौ।‘

‘आसक्ति प्रेम होइन?’

‘भएको भए,’ उसले भनि- ‘तिमी गोआमा ऊसँग बेखबर छुट्टिदैनथ्यौ।काठमाण्डूमा झुक्किएर भेटेका हौ फेरि। उसलाई खबरै नगरी पहाड जाने थिएनौ। गए पनि खबर पठाइरहनु पर्थ्यो तिमीले।‘

‘मेरो स्वभाव……..,’

‘हो, स्वभावैले तिमी कसैलाई प्रेम गर्न सक्दैनौ,’ उसले भनी-‘किनभने तिमी एकोहोरो कलाकार हौ। एकान्तलाई प्रेम गर्छौ। एक्लै संसार चियाएर काममा रमाउन सक्छौ। तिमी कसैको साथ चाहँदैनौ।‘

Greyhound चडेर डालस जाँदा यात्राकै क्रममा पल्पसा क्याफे त सकियो, तर धेरै प्रश्नहरु अझै अनुत्तरित छन्।