Thursday, November 30, 2006

'पल्पसा क्याफे' आफू भित्र खोज्दा

डालस यात्राको क्रममा ‘पल्पसा क्याफे’ पढेको कुरा गरेको थिएँ। म वास्तवमा एउटा भावुक मान्छे हुँ। मलाई थाह छैन मेरा आँखाबाट किन झरे आँसुका थोपाहरु जब पल्पसा चडेको बस एम्बुसमा पर्छ। अझ पल्पसाको साथी जेमिनीले नारायण वाग्लेलाई नै पल्पसाको बारेमा सोध्दा त मेरो हालत हेर्न लाएक थियो ।

एउटा त्यस्तो उपन्यास धेरै पछि पढियो जुन पढ्दा मेरो भावना चुलिएको होस्। शिरिषको फूल पढ्दा पनि म यति भावुक भएको थिइन होला। मेरो लागि ‘शिरिषको फूल’को सकम्बरी भन्दा पनि पल्पसाको अप्रत्यासित बिछोडले पनि यस्तो भएकोल हुन सक्छ।

मैले जिवनमा धेरै उपन्यासहरु पढें। तर पछि सम्म सम्झने चाहिं शायद यी दुई नै हुन्छन् होला। मेरो यी दुबै पल्पसा र सकम्बरीसँग बिछोड भैसकेकोछ। पल्पसालाई मन परेको ‘झर्दै गरेको पात’ भएको झरि चित्र जस्तो छ मेरो यी दुईसँगको सम्बन्ध।

सकम्बरीसँगको भेट त्यति अप्रत्यासित थिएन। तर पहिलो भेटमा नै म ऊ प्रति धेरै नै आकर्षित भएँ। शायद हुनु पर्ने भन्दा पनि धेरै र स्वाभाविक रुपमा हुने भन्दा धेरै फरक। पल्पसासँगको भेट भने चाहिं अप्रत्यासित नै थियो। मैले प्रकाशित गरेको पुस्तक थिएन पल्पसाको हातमा मैले उसलाई भेट्दा। गल्ति मेरै हो मैले नै मेरी पल्पसाको लागी भनेर कुनै पुस्तक प्रकाशित गरिन। ऊ अमेरिका छाडेर नेपाल फर्केकी पनि थिइन, बरु म नै ऊ सित भागेर विदेशिएको थिएँ। किताबमा पल्पसाले लेखेको चिठी याद आयो-

“प्रिय चित्रकार,
तपाईले मलाई सुटुक्क चोर्नु भयो र आफै हराउनुभयो। कति लामो समयसम्म? तपाई कहिले आउनुहुन्छ भन्ने पनि मलाई खबर छैन। म कति आत्यिएकी छु भने मकै झै काठमाडौं-हाँडीभित्र भुटभुटिएको भुटभुटियै भएँ, तपाईले किन मलाई यति सारो आगो लगाउनु भयो। तपाई विनाको काठमाडौं एउटा हाडीं भन्दा फरक लागेन मलाई। म त्यसभित्र कोच्चिएँ र तपाई आगो झोसेर भाग्नुभयो। म यसरी कति समय पोलिन सक्थेँ? तपाई मलाई बुझ्न सक्नुहुन्छ भने ठान्नुहोस् म आगो झोसिएको हाँडीभित्र छट्पटाउने मकैका गेडाभन्दा फरक भइनँ।“

उफ्, पल्पसा, नलेख यसरी चिठी। तिमिसँग बिछोड भएको पिडा नै प्रयाप्त छ मेरो मनमा आगो झोस्न। तिमि नै नायिका भएको पल्पसा क्याफेको पात्र दृश्य झैं समयले सुरक्षाकर्मीको रुपमा आएर मलाई अपहरित गर्‍यो। समयले आँखामा यसरी पट्टी बाँध्यो कि थाह भएन मलाई म कहाँ छु। विश्वास गर पल्पसा, मलाई त्यतिखरे तिम्रो पनि याद रहेन, सकम्बरीको त कुरै भएन। चिठीकै याद आयो-

“पातको नियती भोग्नु पर्‍यो मैले। त्यसैले म आफू जमिनमा अडिन तपाईबाट भाग्दै थिएँ। तपाईबाट टाढा उभिन ताकि म पातबाट एउटा बिरुवाको रुप लिन सकूँ। म तपाईसँग छुट्टिएकै थिएँ तर तपाई मलाई मेरै काठमाण्डू मुकाममा नै धावा बोल्न आउनुभयो र मलाई उडाउनु भयो। मैले तपाईसँग…………सान्त्वना दिनुभयो। उहाँको निम्तो लिएर म तपाईसामु पुगेँ र मलाई एउटा प्रेमीले झैँ व्यवहार गर्नुभयो। के तपाईले कहिल्यै सोच्नुभयो मैले तपाईप्रति कस्तो भावना राखेकी छु।“

तिमीले सहि भन्यौ पल्पसा, म आफूमा बाँचेको थिएँ। मैले न त मेरै भावना तिम्रा अगाडी राख्‍न सकेँ, न त तिम्रै भावनाको कदर गर्न सकेँ। शायद तिमीलाई मनमनै गरेको प्रेममा नै म यति मग्न थिएँ कि मैले तिम्रै प्रेमको सम्मान गर्न सकिन। तिमी सँगै छौ भन्ने घमण्डमा मैले तिमीलाई नै बिर्सिएँ। प्रेम भूपि शेरचनको पाइताला होइन दौडपछि छातीमा तक्मा टाँस्न, यो कुरा बुझ्न मैले धेरै ढिलो गरेँ। आज समयको एम्बुसमा तिमी होइन म परेको छु, छट्पटाइ रहेको छु। दिप श्रेष्ठको गीत बजिरहेछ-

झिरमा उनिनु त्यो एउटा कुरा
पिरमा उनिनु त्यो एउटा कुरा
नभिज्ने आँखा कस्को छ र?
तर झर्नु नझर्नु त्यो अर्कै कुरा।

हो, म आज रोइरहेको छु। ओठमा हाँसो देख्‍नेले भन्लान् यो हासेको छ तर मन देख्‍नेले भन्छन्-पिडा लुकाउन हाँस्दैछ।

तर पल्पसा फेरी भन्छे-

“तपाई राम्रो चित्रकार हुनुहुन्छ। तपाईको म एउटै पाठक वा दर्शक होइन। तपाईका अनगिन्ती दर्शक-पाठक छन्। प्रिय धेरै होलान्। अहिले म ठान्छु, तपाई त्यो हुनुहुन्न जुन मैले सोचेको थिएँ। तपाई धेरैका प्रिय हुनुहुन्छ र तपाईका प्रिय पनि धेरै। तपाई मभन्दा धेरै फरक हुनुहुन्छ र टाढा पनि। म तपाईकहाँ पुग्न सक्दिनँ। म तपाईसम्म पुग्न सक्दिनँ भने एक्लै पाकेर, गलेर त म सड्न मात्र सक्छु। र म सड्न चाहन्नँ। तपाईकै प्रेरणा हो, म फूल्न चाहन्छु। म अब आफ्नो काम सुरु गर्न चाहन्छु।“

शायद उपन्यासको नायिका पल्पसाले सहि भनेकी थिई- तपाईको अरुको उपेक्षा गर्ने स्वभाव हो।

कथामा नयाँ पात्र 'क्रिष्टिना' को प्रवेश हुन्छ। उ भन्छे-“तिमीले पल्पसालाई वास्तवमै प्रेम गरेका होइनौ।“

‘कसरी?’

‘प्रष्ट छ,’ उसले भनी-‘तिमी उसको सुन्दरता र तिमीप्रतिको सकारात्मक धारणाबाट आसक्त भएका हौ। तिम्रो फ्यान थिई ऊ र तिमी त्यसै लहसिएका हौ।‘

‘आसक्ति प्रेम होइन?’

‘भएको भए,’ उसले भनि- ‘तिमी गोआमा ऊसँग बेखबर छुट्टिदैनथ्यौ।काठमाण्डूमा झुक्किएर भेटेका हौ फेरि। उसलाई खबरै नगरी पहाड जाने थिएनौ। गए पनि खबर पठाइरहनु पर्थ्यो तिमीले।‘

‘मेरो स्वभाव……..,’

‘हो, स्वभावैले तिमी कसैलाई प्रेम गर्न सक्दैनौ,’ उसले भनी-‘किनभने तिमी एकोहोरो कलाकार हौ। एकान्तलाई प्रेम गर्छौ। एक्लै संसार चियाएर काममा रमाउन सक्छौ। तिमी कसैको साथ चाहँदैनौ।‘

Greyhound चडेर डालस जाँदा यात्राकै क्रममा पल्पसा क्याफे त सकियो, तर धेरै प्रश्नहरु अझै अनुत्तरित छन्।

1 comment:

Anonymous said...

Khai, aafule yahan padhana payeko chanhi chhiana. Tapain haruko reveiw batai chitta bujhaune koshisma chhu.

SBS